माननीय प्रदेश प्रमुखज्यूको जीवनी
माननीय प्रदेश प्रमुखज्यूको जीवनी
माननीय प्रदेश प्रमुखको संक्षिप्त चिनारीः-
प्रारम्भिक जीवन र शिक्षा
रोल्पा जिल्लाको घर्तीगाउँ (हालको माडी गाउँपालिका वडा न. २ घर्तीगाउँ)मा बुवा अमृतबहादुर घर्तीमगर र आमा तुलसा घर्तीमगरका जेठा सन्तानका रुपमा २०१६ साल माघ १० गते माननीय श्री कृष्णबहादुर घर्तीमगरज्यूको जन्म भएको हो।
उहाँको परिवार एक राजनीतिक परिवार भएको र उहाँको बाजे ओसे घर्तीमगर पञ्चायतकालका एक प्रतिष्ठित मुखिया हुनुहुन्थ्यो। बुवा तत्कालीन रोल्पा जिल्ला पञ्चायत सभापति हुनुहुन्थ्यो भने २०५४ सालपछि तत्कालीन जिल्ला विकास समितिका सभापति र २०३५।३६ सालतिर बुवा जिल्ला सभापति भए पनि बहुदलीय प्रजातन्त्रको वकालत गर्दै आन्दोलनमा होमिनु भएका कृष्णबहादुर घर्तीमगर सानै उमेरदेखि निडर, क्रान्तिकारी र प्रगतिशील स्वभावका हुनुहुन्थ्यो। गाउँले जिवनमा सम्पन्न र राजनीतिक परिवारमा जन्मिएकाले पनि उहाँको बाल्यकाल सुखमय वातावरणमै बित्यो। गाउँका अग्रजहरूको भनाइअनुसार उहाँ बाल्यकालदेखि नै जिज्ञासु, सक्रिय र अध्ययनशील स्वभावका हुनुहुन्थ्यो। गाउँकै विद्यालयमा प्रारम्भिक शिक्षा प्राप्त गर्दै सामाजिक चेतना र शिक्षा दुबैलाई समानान्तर रूपमा अगाडि बढाइ उच्च शिक्षा हासिल गर्दै स्नातकसम्म अध्ययन गर्नु भई शिक्षालाई समाज परिवर्तनको आधार ठानेर शिक्षण क्षेत्रमा समेत विशेष योगदान पुर्याउनु भएको थियो।
उहाँले २०३१ सालमा साविक घर्तीगाउँ गाउँपञ्चायत वडा नं. ३ ब्याङ्खोलाको साझा प्रा.वि. मा संस्थापक शिक्षकको रूपमा अध्यापन गराउनु भएको थियो। यस बाट उहाँको शिक्षा र समाजप्रतिको लगाव स्पष्ट हुन्छ। त्यसबाहेक २०४३ सालमा रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा स्थापना भएको जिल्लाकै पहिलो संस्थागत विद्यालय तुल्सी इङ्लिस बोर्डिङ स्कुलका संस्थापक, अध्यक्ष तथा प्रिन्सिपलको रूपमा लामो समय (२०४३।११।०१ देखि २०८१।०४।१६) व्यतीत गर्नु भएको थियो। जिल्ला शिक्षा समितिमा पनि लामो समय रहेर समग्र जिल्लाको शिक्षा क्षेत्रमा सुधार गर्न उहाँले खेलेको भूमिका अतुलनीय छ। यसर्थ शिक्षा क्षेत्रमा उहाँको उल्लेखनीय योगदान छ भन्दा अत्युक्ति हुँदैन ।
प्रारम्भिक सामाजिक र सङ्गठनात्मक संलग्नता
शिक्षक जीवनसँगै माननीय कृष्णबहादुर घर्तीमगर विभिन्न सामाजिक सङ्घसंस्था र सङ्गठनमा सक्रिय भई विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँको सामाजिक सेवाको संलग्नतालाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छ :-
- नेपाल स्काउट रोल्पा जिल्ला सदस्य (२०३६/३७) ।
- नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य (सि.नं. ९, २०४३/१०/७) ।
- नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा उपसभापति तथा केन्द्रीय पारिषद (२०५०-२०५८) ।
- सुनछहरी युवा क्लब लिबाङ रोल्पाको संस्थापक अध्यक्ष (२०४२-२०४३) ।
- नेपाल मगर सङ्घ रोल्पा सल्लाहकार (२०४९-२०५२) र केन्द्रीय सल्लाहकार (२०७६-२०८१) ।
उपरोक्त तथ्यहरुले उहाँलाई केवल शिक्षाविद् मात्र नभई समाजसेवी र जनप्रीय सामाजिक व्यक्तित्वको रूपमा स्थापित गराएका छन् ।
राजनीतिक यात्रा
माननीय प्रदेश प्रमुखज्यूको राजनीतिक जीवन २०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको पाईन्छ। उहाँका बुवा तत्कालीन रोल्पा जिल्ला पञ्चायत सभापति भएतापनि, उहाँ भने पञ्चायती व्यवस्थाको विरुद्घ आन्दोलनमा होमिनु भएको थियो। उहाँका राजनीतिक घटनाक्रमलाई यसरी बुँदागत रूपमा हेर्न सकिन्छ:
- २०३६ सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा २६ दिन जेल ।
- २०३८ सालमा पुनः आन्दोलनकै क्रममा २० दिन जेल ।
- उहाँको राजनीतिक यात्रा क्रमशः नेपाली काङ्ग्रेससँग नजिकिँदै गयो ।
- २०४७ साल - नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सदस्य ।
- २०४९ साल - नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सचिव ।
- २०४९ साल - तत्कालीन घर्तीगाउँ गाविसको निर्विरोध गाविस अध्यक्ष ।
- २०४९ साल - जिल्ला विकास समिति (जिविस) सभापतिको प्रत्यासी ।
- २०५४ साल - तत्कालीन घर्तीगाउँ गाविसको निर्विरोध वडा सदस्य ।
- २०४८-२०७२ सालसम्म - नेपाली काङ्ग्रेस महासमिति सदस्य ।
- २०५९-२०७२ सालसम्म - लगातार नेपाली काङ्ग्रेस जिल्ला सभापति ।
- २०५९-२०६२ सालसम्म -नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार परिषद सदस्य ।
- २०६० सालमा नागरिक समाज सरोकार समितिको केन्द्रीय सदस्य ।
- २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सदस्यका लागि बन्द सूचीमा पनि उहाँको समावेश ।
लोकतान्त्रिक आन्दोलन र योगदान
राजदरबार हत्याकाण्डपश्चात उत्पन्न राजनीतिक सङ्कट र दोस्रो जनआन्दोलनका क्रममा उहाँले सक्रिय भूमिका खेल्नु भएको थियो। २०६२/२०६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलनमा सबै दलका प्रमुखहरू जिल्लाबाहिर रहेकाले रोल्पामा आन्दोलनको नेतृत्व पनि गर्नु भएको थियो। सोही क्रममा तत्कालीन सशस्त्र विद्रोही पक्ष माओवादीसँग जङ्कोटमा उहाँले वार्ता समेत गर्नुभएको थियो।यसअघि पनि विभिन्न आन्दोलनमा उहाँले गिरफ्तारी भोग्नुपरेको थियो। तर लोकतन्त्रप्रतिको आस्था र प्रतिबद्धताका कारण उहाँ आफ्नो लक्ष्यप्रति कहिल्यै विचलित हुनुभएन।
व्यावसायीक योगदान
राजनीति र समाजसेवामा मात्र नभई उहाँ व्यवसायीक क्षेत्रमा पनि सक्रिय रहेको पाइन्छ। केही न केही पेसा व्यवसाय गरेर स्वावलम्बी जीवन जिउन समाजसेवा सहित जीविकोपार्जन पनि गर्न सकिन्छ भन्ने उद्देश्यले विभिन्न व्यवसाय र समाजसेवा क्षेत्रमा उहाँको बहुआयामिक योगदान देखिन्छ ।
- अमृत सन कृष्ण निर्माण सेवा घर्तीगाउँ रोल्पाको प्रोप्राइटर (२०३६-२०३७)
- तुल्सी फर्निचर उद्योग लिबाङको प्रोप्राइटर (2045/06/11)
- हेटौडा सिमेन्ट उद्योग मकवानपुरको संचालक समिति सदस्य (2054/10/10)
सास्कृतिक र खेलकुदमा योगदान
कृष्णबहादुर घर्तीमगरको सांस्कृतिक चेतना पनि उतिकै प्रखर देखिन्छ । सांस्कृतिक पाटोबाट हेर्दा वाद्यवादन र नृत्य उहाँको विशेष कला हो । खास गरी २०४३ पौष २७ गते तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा आयोजित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय लोकनृत्य प्रतियोगितामा उहाँ लगायत उहाँको सिङ्गो समूहले प्रथम स्थान प्राप्त गरेको थियो ।
सांस्कृतिक क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि विशेष रुचि, लगाव र योगदान रहेको छ। रोल्पाको सदरमुकाम लिबाङमा कुनै बेला सुनछहरी युवा क्लव भनेपछि सबैको आकर्षणको केन्द्र बनेको थियो। उक्त क्लवको उहाँ संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो। खेलप्रतिको लगावमात्र नभई उहाँ एक कुशल खेलाडी पनि हुनुहुन्थ्यो। ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल आदि खेलहरूमा पनि राम्रै क्षमता भए पनि उहाँको विशेष रुचिको खेल भलिबल हो। आफ्ना साथीभाइमाझ उहाँ भलिबल खेलका कुशल खेलाडीका रूपमा चिनिनुहुन्छ। यिनै क्षमता, कलाकौशलका कारण पनि होला, उहाँलाई जिल्ला खेलकुद विकास समिति रोल्पाको संस्थापक अध्यक्ष (२०५०/१०/१७) हुने सौभाग्य पनि प्राप्त भयो । त्यस्तै मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति सुर्खेतको सदस्य (२०५५/०४/१०) भएर पनि जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। यसले उहाँलाई समाजका हरेक क्षेत्रमा नेतृत्वदायी योगदान दिने बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा स्थापित गराएको थियो ।
अन्तर्राष्ट्रिय राजनीतिक संलग्नता
२००४ डिसेम्बर २५-२७ मा भारतको गुजरात, भोपालमा आयोजित नेपाली जनसम्पर्क समितिको पाँचौँ अधिवेशनमा उहाँले नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को प्रतिनिधि मण्डल सदस्यका रूपमा सहभागिता जनाउनु भएको थियो । यसरी उनले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको प्रतिनिधित्व गर्नु भएको थियो ।
मानवअधिकार र सामाजिक संस्था
राजनीतिक, सांस्कृतिक र खेलकुद क्षेत्रबाहेक मानव अधिकार र सामाजिक क्षेत्रमा पनि उहाँको विशेष योगदान रहेको पाइन्छ । उँहाले नेपाल मानव अधिकारको सदस्य (सदस्य नं. ७५४५, २०४९/११/२७) भएर काम गर्नुभएको थियो। त्यस्तै नेपाल विद्वत् परिषद्को सदस्य (सदस्य नं. ३७०४, २०५६/०७/२७) र गरिबसँग विश्वेश्वर कार्यक्रमको बोर्ड सदस्य (२०५६/११/१०) को समेत जिम्मेवारीमा रहेर काम गर्नुभएको थिए। यतिमात्र नभएर उहाँ निर्माण व्यवसायी सङ्घ रोल्पाको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । यसरी उहाँले सामाजिक न्याय, मानव अधिकार, सामाजिक रुपान्तरण र आधारभूत आवश्यकतालाई जोड दिने सङ्घसंस्थामा आबद्घ रहेर निरन्तर सक्रिय रहेको पाइन्छ ।
तत्कालीन घर्तीगाउँ गाउँ विकास समिति वडा नं. १ र हाल माडी गाउँपालिका वडा नं. २ निवासी माननीय कृष्णबहादुर घर्तीमगरज्यू को चार छोरी र दुई छोरा गरी जम्मा छ (६) सन्तान छन् ।उहाँको जीवन एक बहुआयामिक यात्राको उदाहरण हो। शिक्षाको क्षेत्रमा पनि सरकारी शिक्षकदेखि बोर्डिङ स्कुलका संस्थापक, प्रिन्सिपलसम्म, समाजसेवामा रेडक्रसदेखि मगर सङ्घसम्म, राजनीतिमा विद्यार्थी आन्दोलनदेखि जिल्ला सभापति र केन्द्रीय तहसम्म, व्यवसायमा निर्माणदेखि उद्योगसम्म, संस्कृतिमा लोकनृत्य विजेतादेखि खेलकुद विकास समितिसम्म—उँहाले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पाइन्छ । लोकतन्त्रप्रतिको आस्था, समाजप्रतिको समर्पण र शिक्षा-संस्कृतिप्रतिको योगदानले उहाँलाई रोल्पामा मात्र नभई सम्पूर्ण नेपालकै विशिष्ट नेतृत्वका रूपमा चिनाएको छ । उहाँको जीवन यात्रा भावी पुस्ताका लागि प्रेरणादायी श्रोत बनेर रहनेछ ।